काठमाडौं –घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेको एन्फाले जनाएको छ।
विदेशमा खेलिरहेका सावित्रा भण्डारी र रेखा पाैडेललाई समेट्दै नेपाली टोली घोषणा गरिएको हो।
नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्नेछन्।
साताै संस्करणको साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुँदैछ।
च्याम्पियन्सिपमा दक्षिण एशियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन्।
च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुनेछ। नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्नेछ।
नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप गर्न लागेको हो। यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो।
त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।