काठमाडौं– साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। एन्फा कम्प्लेक्स च्यासलमा भएको फाइनल खेलमा नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि चुमेको हो।
यो जितसँगै बंगलादेशले उमेर समूहमा नेपालमाथि पहिलो जितसमेत दर्ता गरेको छ। पहिलो हाफमा १–० गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा थप दुई गोल र इन्जुरी समयमा अर्को एक गोल थप्दै ४–१ को जित दर्ता गर्यो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो। डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो। तर गोल भने बंगलादेशले गर्यो। ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन्।
खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन्।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे। उनले ८१ औं मिनेटमा गोल गरे। खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो। तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्यो।
नेपालले भने एक गोल मात्र फर्काउन सक्यो। बंगलादेशका लागि मिराजुल इस्लामले व्यक्तिगत दुई गोल गरे।
यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो। सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।