काठमाडौँ- पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सर्लाही निवासी ८० वर्षीय पूर्व राज्यमन्त्री रायको गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै घरमा हत्या भएको थियो। रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए। ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ।
हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टमका लागि शव मलंगवा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।