काठमाडौं- नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ आफ्नो पूर्वनिर्धारित रिलिज मितिबाट एक सातापछि सरेको छ। चलचित्र अब जेठ १८ को सट्टा जेठ २५ गते रिलिज हुने भएको हो ।
सिनेमाका काठमाडौं वितरक प्रचण्डमान श्रेष्ठले रिलिज मिति साता दिन धकेलिएको पुष्टि गरे। यही मितिमा ‘लण्डन टू पेरिस’समेत रिलिज हुँदैछ। यसैगरी सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सीज इन्टरटेन्मेन्टले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेको छ । शनिबार अन्तर्राष्ट्रिय प्रदर्शनको सम्झौतामा हस्ताक्षर भएको हो ।
‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको सिनेमाले दुर्गम गाउँमा सडक र गाडी पुगेपछि त्यहाँको एक परिवारमा आउने परिवर्तनको कथा पेस गर्छ।
सिनेमा निर्देशक सुब्बा र महेश राईले संयुक्तरुपमा लेखेका हुन। अमोद राई तथा निर्देशक सुब्बाले निर्माण गरेको यो सिनेमामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्माता हुन् ।
अमेरिकी छायाँकार मार्किन कापरोनले छायाँकम गरेको सिनेमामा अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत रुचाइएको सिनेमा हो। सिनेमा टोरोन्टो, गोटेबर्ग, बुसान, पुणे, बेइजिङ जस्ता फेस्टिभलमा छनोट भएर प्रदर्शन भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।