काठमाडौं- एसएमएस फ्रेन्डसिप टी-२० कपमा नेपालले बरोडालाई १५७ रनको लक्ष्य दिएको छ। मंगलबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो।
नेपालका लागि कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्काको मद्दतले सर्वाधिक ४० रन बनाए। यस्तै सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाएर आउट भए।
अनिलकुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे। ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए।
भारत बरोडाका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।