काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन्।
गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका हुन्।
सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको बिषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका विषयमासमेत जानकारी गराउन निर्देशन दिएका हुन्।
सबै गन्तव्य मुलुकबाट तथ्यांक संकलन उद्धार तथा समस्या समाधानको योजना बनाईने समेत उनले बताए। ‘विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानिय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइनेछ। बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौ,’ उनले भने।
त्यस्तै, विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिने उनले बताए। बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बीमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।