काठमाडाै-साउदी अरबमा बिहीबार राति सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ।
फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शन गरे पनि टाइ ब्रेकरमा जोर्डनसँग ५-३ ले पराजित भएर नेपाली टोली पहिलो अन्तर्राष्ट्रिय उपाधिबाट चुकेको थियो।
नेपाली महिला टोली शुक्रबार राति विमानस्थलमा अवतरण गर्दा अखिल नेपाल फुटबल संघका अपध्यक्ष पंकजविक्रम नेम्वाङ र संघीय सांसद् तोसिमा कार्कीसहितले स्वागत गरेकी थिइन् ।
विमानस्थलमा अतवरण गरेपछि नेपाली टोलीलाई खेलअधिकारी र उनीहरूका आफन्तले पुष्पगुच्छा र खादा-मालाले स्वागत गरे।
नेपाल फर्किएका महिला टोलीका सदस्यहरू रश्मि तामाङ र प्रीति राईलाई ह्वीलचेयरमा स्वागत गरियो।
रश्मि र प्रीति दुवै जोर्डनविरुद्धको फाइनल भिडन्तमा घाइते भएका थिए। त्यहीकारण उपचारका क्रममा रहेका उनीहरू दुवैजना ह्वीलचेयरमै एयरपोर्टबाट बाहिरिएका थिए ।
नेपाली महिला टोलीले वाफसहित ११ औँ प्रतियोगिताको फाइनल खेलेर पनि उपाधिबाट बिमुख हुनु परेको छ।
यस पटक उपाधिनजिक पुगेर पनि महिला टोली चुकेको हाे। वाफमा आमन्त्रितका रुपमा पुगेको नेपाली टोली पहिलो सहभागितमै फाइनल पुगेको थियो। तर नेपाललाई जोर्डनले छैटौँ पटक उपाधि जित्दै निराश बनायो।
वाफ च्याम्पियन्सिपको फाइनल खेल्न नपाएकी सावित्री भण्डारी साम्बा भने उतैबाट क्लब फुटबलका लागि फ्रान्स पुगिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।