काठमाडौं- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा सबैभन्दा लामो मानिएको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङको ‘ब्रेक थ्रु’ भएको छ।
बुधबार साँझ उक्त अडिट जोडने सुरुङको ‘ब्रेक थ्रु’ भएको आयोजनाले जनाएको छ। योसँगै आयोजनामा हालसम्म पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ। आयोजनामा छ हजार २७० मिटर सुरुङ निर्माण गर्नु पर्नेछ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएसँगै अब आयोजनामा ३५३ मिटर सुरुङ खन्न बाँकी रहेको बताए। उनका अनुसार रघुगङ्गा गाउँपालिकाको अँधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङको काम सकिएको छ। आगामी वैशाख भित्र सम्पूर्ण टनेलको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य लिएर काम अघि बढेको उनले बताए।
आयोजनाले टनेल पूरा भएका प्याकेजमा कङ्क्रिट लाइनिङ गर्ने, पेनस्टक राख्ने र पावरहाउसमा टर्बाइन राख्ने क्षेत्रको काम पनि एकसाथ सुरु गरेको छ। विद्युत्त गृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर बटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो।
विद्युत गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेसमध्ये २८ मिटर निर्माण सकिएको, ६३ मिटरमा काम भइरहेको र ३७ मिटर बाँकी रहेको छ। सन् २०२५ मार्चदेखि विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजना सहित निर्माणमा तीव्रताका साथ काम भइरहेको उनले बताए।
भारतीय आयात-निर्यात (एक्जिम) बैङ्कको सहुलियतपूर्ण ऋण लगानी भएको राहुघाट जलविद्युत् आयोजनामा ब्याज बाहेक आठ अर्ब ६० करोड लागत अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले २०६५ देखि राहुघाटको सिभिल इन्जिनियरिङको काम सुरु गरेको थियो।
ऋणको सर्त अनुसार २०६७ साल कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी भारतीय कम्पनी आईभीआरसीएल इन्फास्टक्चर प्रोजेक्ट्स इन्डिया लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो तर ठेकदारले काम गर्न नसकेपछि प्राधिकरणले २०७० सालमा सम्झौता तोडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।