बैतडी : बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका-१ स्थित घारडा भन्ने ठाउँमा कच्ची सडकमा जिप पल्टिँदा डिलाशैनी- १ बस्ने ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
सु.प.प्र.०१०००१च ३१४६ नम्बरको जिपमा सवार १३ जना मलामीमध्ये एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिपमा सवार अन्य सकुशल रहेको प्रहरीले जनाएको।
बुधबार मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर जिप दुर्घटनामा परेको स्थानीय लोकेन्द्र धामीले जानकारी दिए।
दुर्घटनामा परेर डिलाशैनी १ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले जानकारी दिए।
उनीहरु सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये रतन धामीको ढाड र कम्मरमा चोट रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।