काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नेपालमै पहिलो पटक डबल स्वीच शल्यक्रिया सफल भएको छ। अति जटिल तथा जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत भएको थिएन।
नवलपरासीकी १४ वर्षीया बालिका सानैदेखि निलो हुने, दौडिने नसक्ने तथा हालै आएर अर्धचेत हुने अवस्थाले ग्रसित थिइन्। कमजोर आर्थिक अवस्थाका कारणले परिवारले उचित उपचार गर्न सकिरहेको थिएन। साइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरीज, भेन्ट्रीकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसीस जस्ता चारवटा त्रुटी भएको उक्त संरचनागत मुटु भित्र र बाहिर गरी दुई ठाउँमा रगत विपरीत दिशा तर्फ बगिरहेको थियो।
शल्यक्रियामा पनि भित्र र बाहिर गरी दुवैतिर रगत बग्ने बाटो मिलाइएको थियो। यसैले गर्दा यो शल्यक्रियालाई डबल स्वीच नामाकरण गरिएको हो। माघ १७ गते उक्त शल्यक्रिया सम्पन्न भएपश्चात् हाल बालिका खतरामुक्त भएकी छन्।
डा रविन्द्र भक्त तिमलाको नेतृत्वमा भएको उक्त शल्यक्रियाका लागि १० घन्टा समय लागेको थियो। शल्यक्रिया निःशुल्क रुपमा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।