काठमाडौं– थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि नाटक 'मासिन्या' मञ्चन हुँदैछ।
नाटकका लेखकद्वयले तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेपकारुपमा ‘मासिन्या’ तयार पारेको बताएका छन्।
मंगलबार मण्डलामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा लेखकद्वय राजु स्याङ्तान, लक्ष्मी रुम्बाले नाटकको औचित्यबारे बताए।
कार्यक्रममा नाटक समुहले 'मासिन्या'को रचनादेखि मञ्चन यात्राबारे प्रकाश पारेका थिए।
लेखक स्याङ्तानका अनुसार झन्डै डेड दुई वर्ष अघि नाटक तयार गरिएको हो।
तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि मासिन्याले त्यसमा टेवा पुग्ने उनको विश्वास छ।
'मासिन्याले जङ्गबहादुरको समयदेखि अहिले सम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने कथा भन्छ', उनले भने,'हामीले कविता त लेख्यौं, यतिले पुगेन भन्ठानेर नाटक ल्यायौँ। हाम्रो मौलिकता बोकेको माटो, हाम्रै पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौँ।'
समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समुहको पहिलो प्रयास भएको बताउँदै अर्का लेखक रुम्बाले तामाङको मात्र नभएर नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सिमान्त्कृत समुदायको कथा व्यक्त गर्ने सुनाइन्।
माघ २८ सम्म मञ्चन हुने नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवार लगायत कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।