काठमाडौं– अनिल शर्मा निर्देशित फिल्म ‘गदर–२’ले बक्स अफिसमा ४ सय ५० करोडभन्दा बढी कमाइ गरेको छ। यो सन् २००१ मा रिलिज भएको अनिलको फिल्म ‘गदरः एक प्रेम कथा’ को सिक्वेल हो।
हालै ‘गदर : एक प्रेम कथा’का लागि निर्देशक अनिल शर्माको पहिलो रोजाइ सन्नी देओल नभई गोविन्दा रहेको हल्ला चलेको थियो। अनिल आफैंले एक अन्तर्वार्तामा यसबारे कुरा गरेका छन्। उनले यो फिल्मका लागि सन्नी देओल मात्रै आफ्नो पहिलो रोजाइ रहेको बताए।
एक अन्तर्वार्तामा अनिलले भने, ‘गदरका लागि गोविन्दा पहिलो रोजाइ थिएनन्। उनीसँग मैले महाराजा फिल्ममा मात्र काम गरेको छु। एक दिन जब म उनलाई गदरको कथा सुनाउँदै थिएँ, त्यो सुनेर उनले मलाई यो फिल्म गर्न नसक्ने बताए। उनीले यो फिल्म आफूलाई अफर गरिरहेको सोचे।’
अनिलले थप भने, ‘गोविन्दालाई कथा सुनाउनुअघि नै मैले उनलाई यो कथा सन्नी देओललाई सुनाएको थिएँ। जब गोविन्दाले मलाई कथा के हो भनेर सोधे, मैले यो कथा सुनाएँ।’
गोविन्दाले यो कथामा कुनै चासो देखाएनन्। उनले भने, ‘म यो गर्न सक्दिनँ। किनभने यसमा हिन्दू र मुस्लिम बढी छन्।’
अनिल र गोविन्दाले सन् १९९८ मा रिलिज भएको फिल्म ‘महाराजा’मा सँगै काम गरेका थिए। फिल्ममा गोविन्दाको अपोजिटमा मनिषा कोइराला थिइन्। यो बक्स अफिसमा फ्लप भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।