काठमाडौं– भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसालाई नियन्त्रणमा लिनका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ। यी सुरक्षाकर्मीमा सेनादेखि लिएर असम राइफल्स, बीएसएफ, सीआरपीएफ, एसएसबी र आईटीबीपीका जवान र अधिकारीहरु संलग्न छन्।
मणिपुरको जनसंख्या करिब ३० लाख रहेको छ। अर्थात् हरेक ७५ व्यक्तिका लागि एक सुरक्षाकर्मी। तर यति धेरै सुरक्षाकर्मी तैनाथ हुँदा पनि हिंसा भने रोकिएको छैन। पछिल्लो दुई दिनमा नयाँ तरिकाले भड्किएको हिंसामा ६ जनाको मृत्यु भइसकेको छ।
हिंसाको ताजा घटनाअनुसार शनिबार विष्णुपुरको क्वाता इलाकामा मैतेई समुदायका तीन व्यक्तिको निर्मम तरिकाले हत्या भएको छ। हिंसा गर्नेहरुले बन्दुक र मोर्टारले एक अर्कामाथि प्रहार गरिरहेका थिए। तीन हतियार स्थानीय प्रहरी मुख्यालयबाट लुटपाट गरिएका हुन्।
सुरक्षा बलको भारी उपस्थितिका बावजूद आक्रमणकारीले घाटी र पहाडी क्षेत्रका सुरक्षा क्षेत्र तोड्दै सर्वसाधारणलाई निशाना बनाइरहेका छन्। मणिपुरमा पूरै देश र विश्वको ध्यान छ। अन्तर्राष्ट्रिय मिडियाले मणिपुरको जातीय हिंसाबारे धेरै लेखेका छन्।
१९ जुलाईमा मणिपुरका दुई महिलामाथि यौत दुर्व्यवहार गरेको भयावह भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्तर्राष्ट्रिय समुदायले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए। यो भिडियोलाई हेरिसकेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बयान दिएका थिए। त्यसबेला उनले भनेका थिए, ‘देशको बेइज्जत भएको छ। दोषीलाई छाडिनेछैन।’
नयाँ तरिकाले भड्कियो हिंसा
३ मे–पछि भड्किएको हिंसामा अहिलेसम्म १६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। ५० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्। कैयौंको संख्यामा स्थानीयको घर जलाइएको छ।
यतिधेरै धनजनको क्षतिका बावजूद त्यहाँ हिंसा रोकिने कुनै संकेत देखिएको छैन। शुक्रबार विष्णुपुरको क्वाता क्षेत्रमा मैतेई समुदायका तीन जनाको बर्बर तरिकाले हत्यापछि सेना र अर्धसैनिक सुरक्षा बलको यति धेरै उपस्थिति रहँदा पनि हिंसा किन रोकिएको छैन भन्दै प्रश्न उठिरहेको छ।
मैतेई समुदायका उनीहरुलाई पहिला तलबारले काटिएको थियो। त्यसपछि उनीहरुको शव जलाइयो। सुरक्षा बलका अनुसार मैतेई र कुकी समुदायका व्यक्तिहरु एक अर्कामाथि आक्रमण गर्न नपाउन भन्नका लागि दुवै क्षेत्रमा सुरक्षा घेरा बनाउने कोशिश गरिएको छ।
तर उक्त क्षेत्रमा काम गरिरहेका मानवअधिकार कार्यकर्ता ओनीलले सुरक्षा घेरा घाटीमा बनाइएको छ। पहाडी क्षेत्रमा सुरक्षा घेरा बनाइएको छैन, जहाँ कुकी समुदायका मानिसहहरुको क्षेत्र हो। उनी भन्छन्, ‘तर मध्यवर्ती क्षेत्रमा रहेको क्षेत्रमा धान खेती हुन्छ। त्यहाँ कुकी उग्रवादीको कब्जा भएका कारण मैतेई समुदायका किसानहरु खेती गर्न जान पाएका छैनन्। यसै कारण मध्यवर्ती क्षेत्रमा तनाव भइरहेको छ।’
४० हजार सुरक्षाकर्मी तैनाथ गर्दा पनि ३० लाख जनसंख्या भएको क्षेत्रमा हिंसा किन रोकिएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘४० हजार या ५० हजार सुरक्षाकर्मी खटाइयोस्। जबसम्म संकट समाधानका लागि राजनीतिक इच्छाशक्ति हुँदैन। तबसम्म शान्ति कायम हुन सक्दैन।’
कसरी सुरु भयो हिंसा?
मैतेई र कुकी समुदायका मानिसबीच तनाव कैयौं दशकयता चल्दै आएको छ। केही वर्षयता भने एक अर्काको जमिन कब्जा गर्ने गतिविधि बढ्न थालेपछि तनाव वृद्धि भएको हो। गतवर्ष सन् २०२२ को अगष्टमा वीरेन सिंहको सकारले एक सूचना जारी गर्दै पहाडी क्षेत्रको चराचान्दपुर र नोने जिल्लाको ३८ गाउँलाई गैर कानुनी बताएको थियो।
सूचनामा ती गाउँहरु संरक्षित वन क्षेत्रमा परेको बताइएको थियो। जसकारण कुकी समुदाय सरकारसँग निकै आक्रोशित बन्यो। आधा सूचना जारी गरेर गाउँलाई अवैध घोषणा गरिएको उनीहरुको भनाइ थियो। यसका साथै यसैवर्षको मार्चमा सरकारले उक्त क्षेत्रमा अफिम खेती नष्ट गर्न सुरु गरेको थियो।
जब मणिपुर उच्च अदालतले २०२३ अप्रिल १४ को आदेशमा राज्य सरकारलाई मैतेई समुदायलाई जनजातीको दर्जा दिनका लागि आदेश जारी गर्यो त्यसपछि अवस्था विराल बन्दै गयो। १४ अप्रिलको आदेश मैतेई ट्राइब युनियनको अपिलमा सुनुवाइपछि जारी गरिएको थियो। उच्च अदालतको एकल इजलासको बदेशमा मैतेई समुदायको मागअनुसार राज्य सरकारलाई चार साताभित्रै मैतेई समुदायलाई जनजाती समुदायभित्र सहभागी गराउनका लागि सिफारिस केन्द्र सरकारलाई पठाउन आदेश दियो।
सडकमा संघर्ष
इन्डियन एक्सप्रेसको एक रिपोर्टमा हिंसा सुरु हुनुभन्दा तीन दिनअघि २७ अप्रिलमा चराचान्दपुरमा एक उग्र व्यक्तिहरुको समूहद्वारा नवनिर्मित जिम जलाइएको थियो। २८ अप्रिलमा उक्त जिम मुख्यमन्त्री वीरेन सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो।
त्यसपछि २८ अप्रिलमै कुकी समुदायको एक भीडले जमिन खाली गराउनेविरुद्ध निकालिएको मार्च र्याखलीले वन विभागको दफ्तर जलायो। त्यसपछि मैतेई समुदायका मानिसलाई जनजातीय दर्जा दिनका लागि सिफारिस दिने अदालतको आदेशविरुद्ध पहाडी जिल्लामा आन्दोलन सुरु गरियो। तर रेडिकल मैतेई समूह मैतेई लिपुनले मार्चविरुद्ध अर्को मार्च निकाले र नाकाबन्दी गरे।
त्यसपछि हत्याको श्रृखला सुरु भयो र अवस्था प्रहरीको नियन्त्रणबाहिर गयो। ३ मे मा सुरु भएको हिंसामा अहिलेसम्म १६० मानिसको मृत्यु भइसकेको छ। अवस्था अहिले पनि नियन्त्रण बाहिर छ। ३ मे मा निकालिएको र्यालीका क्रममा प्रहरीले कैयौं तोझरबङ र काङगई क्षेत्रमा दुई समुदायका मानिसको घर जलाइएको खबर पायो।
साँझसम्म विष्णुपुर र चुराचान्दरपुरमा कुकी र मैतेई समुदायका मानिसबीच सडकमा संघर्ष हुन थाल्यो। र उग्र भीडले चुराचान्दरपुर र त्यस आसपासका प्रहरी चौकीबाट प्रहरीका हातहतियार लुटपाट गर्न सुरु गरे। रातिसम्म दुवै समुदायका व्यक्तिहरुले एक अर्काका घरमा आगो लगाउन थाले।
यसैबीच मैतेई समुदायकी महिलामाथि बलात्कार गरेर हत्या गरिएको खबर फैलियो। यसपछि हत्याहिंसा सुरु भयो। प्रहरीले अहिलेसम्म त्यहाँको अवस्थालाई नियन्त्रमा लिन सकेको छैन।
बीबीसी हिन्दीबाट अनुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।