काठमाडौं- नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले संसद् भवनमा पानी चुहिने गरेको भन्दै सो भवनको संरक्षणको माग गरेकी छिन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो विषय उठाएकी हुन्।
'हामी यो बिल्डिङको भित्र छिर्छौँ। यसको देब्रेपट्टिको लबीमा, अहिले दैनिकजसो पानी पर्न थालिसकेपछि रित्ता बाल्टिनहरु पानी थाप्नका लागि राखिएको मैले देखेको छु', उनले भनिन्।
देब्रेपट्टिको लबीमा पानी चुहिएर बिल्डिङ भत्किने भत्किने अवस्थामा पुगेको जस्तो आफूले ठानेको उनको भनाइ छ। 'त्यसैले यसको संरक्षणपट्टि सम्बन्धित सबैको ध्यान जाओस् भनेर म सबैको ध्यान जाओस् भनेर आग्रह गर्छु', उनले भनिन्।
उनले सो भवनबाटै २०७२ सालमा समावेशी संविधान घोषणा गरिएको भन्दै त्यसको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताइन्। उनले भनिन्, 'यो बिल्डिङ हामी सबैको सम्पत्ति हो। नेपाली जनताको सम्पत्ति हो। त्यसैले हामीले यस बिल्डिङको संरक्षण गर्नुपर्छ।'
यसअघि पनि संसद् भवनमा शौचालय, पानी, एसी तथा सिट कभर जस्ता विषयको व्यवस्थापनको विषय उठ्ने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।