काठमाडौं– रेशम चौधरीले टीकापुर घटनालाई रहस्यमय बताएका छन्। कैद सजाय माफी पाएपछि जेलबाट छुटेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘यो निकै गम्भीर, रहस्यमय घटना हो। यसको निराकरणका लागि राज्यले गहन ध्यान दिएन। कतिपय कुरा यस्ता हुन्छन्। जुन चाहेर पनि खोल्न सकिँदैन।’
उनले देश बनाउन सम्पूर्ण रुपमा पुनरावलोकन हुनुपर्ने बताएका छन्। आफूहरुले अब देशको नेतृत्व लिन लाग्नुपर्ने बेला भएको उल्लेख गरेका छन्।
उनले थपे, ‘अब हामी अभियान २०८४ भनेर अघि बढ्छौं। हामीले नेतृत्व गर्छौं। प्रधानमन्त्रीको बागडोर नागरिक उन्मुक्ति पार्टीले सम्हाल्नेगरी अघि बढ्छौं।’
उनले पार्टीलाई संकीर्ण जातीय सोचबाट माथि उठाउने बताएका छन्। त्यसका लागि आफूहरु सक्रिय रहने समेत बताएका छन्। आफूहरुले देशबाट समानता मागेको बताए।
उनले भने, ‘यो देशको नागरिक भएकाले मैले दौरा सुरुवाल लगाउनुपर्छ। लगाउँछु। संविधानको पालना गर्छु। हामीले यो देशमा चाहेको पहिचान हो। भन्न खोजेको हाम्रो आगनमा तपाईं देउसी खेल्नुहुन्छ भने तपाईंको आंगनमा सखिया नाच्न दिनुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।