काठमाडौं– सडक आवागमन तथा फुटपाथमा अवरोध पुर्याएर सञ्चालित भएको देखिएपछि काठमाडौं महानगरपालिकाले ३४ वटा मोटरसाइकल वर्कशपलाई कारबाही गरेको छ। महानगरपालिकाले यस्ता वर्कशपहरुलाई ५ हजारका दरले जरिवाना तिराएको हो।
सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो।
बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको महानगरपालिकाले जनाएको छ।
यस्तै, प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।
महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।