काठमाडौं- कवि देवकी अभिलाषीको कविता संग्रह ‘आदिवासी भोक’ लोकार्पण भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन्।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए। त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने, ‘त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ।’
प्रमुख अतिथिलाई राई जातिको फेटा गुथाइदिएपछि भावुक हुँदै कुलपति राईले भने, ‘अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो समुदायले गुथाइदिने फेटाभन्दा आजको फेटा विशेष थप गह्रौं लागेर मनलाई बढी भावुक बनायो।’
कवि एवम् निबन्धकार कुमारी लामाले आदिवासी इतरकी देवकीले आदिवासी भोक ल्याउनुलाई हिम्मतसँग दाँजेकी थिइन्। ‘एउटा कविले आफ्नै देश र परिवेश निर्माण गर्ने भएकोले हिम्मतसाथ देवकी त्यस बाटोमा हिँडेकी छिन्,’ लामाले भनिन्।
एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिकाद्वारा प्रकाशित कविता सङ्ग्रह आदिवासी भोकमा ४२ कविता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।