काठमाडौं– नेपालमा बनेको ‘यात्री’ मोटरसाइकलका उत्पादकसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएर उनीहरुसँग छलफल गरेको सचिवालयले जनाएको छ।
नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुन निर्माण गर्न सोमबार सरोकारवालासँग छलफल गर्ने पनि जनाइएको छ। कानुन अभावमा उक्त मोटरसाइकल दर्ता नहुँदा युवा उद्यमीहरुले पलायन हुने बताइरहेका बेला प्रचण्डले छलफल गरेका हुन्।
उनले चाँडै कानुन बनाएर समस्या समाधान गर्नुका साथै युवा उद्दमशीलतालाई प्रोत्साहन गर्न आफूले थप व्यवस्था गर्ने जनाएका छन्।
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीले ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भइ काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्याउन मुख्यसचिवलाई निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।