काठमाडौं- लेखक खगेन्द्र संग्रौलाको दलित विषयक कथासङ्ग्रह ‘संग्रामबहादुर सार्की’ शनिबार सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रमको सुरुवात लेखक संग्रौलाले कथासंग्रहबाट एउटा कथा ‘बाली बिग्रेको अर्को साल’ वाचन गरेका थिए।
कार्यक्रममा कवि तथा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले संग्रौलाका कथाहरू दलितहरूमाथिको उत्पीडन विरुद्धको आवाज रहेको बताए।
शीर्ष कथामाथिको प्रसंग जोड्दै उनले भने, ‘यो कथामा दलितमाथि भएको उत्पीडनविरुद्ध राई पात्रले गरेको जुन विद्रोह छ, त्यो सशक्त छ।’
अर्का वक्ता लेखक युग पाठकले संग्रौलाका कथाहरूमा दलितहरूले जातको कारण भोग्नुपरेको अत्याचारबारे वास्तविक चित्रण गरेको बताए। यो संग्रहलेअझै धेरै नयां बहसको थालनी गर्नेसमेत आशय व्यक्त गरे।
लेखक सरिता परियारले दलित समुदायले भोग्नुपरेको उत्पीडन संग्रौलाको कथामा कसिलो ढंगले आएको बताइन्। उनको संग्रहभित्रका कथाहरूलाई सुक्ष्म तरिकाले नियालिन्।
लेखक संग्रौलाले संकटको बेलामा हतारमा लेखिएका कथाहरूको संग्रहका रुपमा प्रकाशन गर्ने भएपछि आफूले फुर्सदमा गोडमेल गरेर तयार पारेको बताए।
यस कथासंग्रहमा संग्रौलाले २०२७ सालदेखि ०५५ सालको बीचमा लेखिएका ८ वटा दलित कथाहरू समावेश छन्। पुस्तकलाई बेला पब्लिकेशनले प्रकाशनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।