काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक शनिबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले २४ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा विभिन्न पार्टीको चरित्र चित्रण गरेका छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी भएको उनको निष्कर्ष छ। पुँजीपति वर्गको हित प्रतिनिधित्व गर्ने भए पनि कांग्रेस संविधान र लोकतन्त्र रक्षाप्रति भने प्रतिबद्ध रहेको अध्यक्ष नेपालको ठहर छ।
त्यस्तै, नेकपा एमाले भने दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भएको नेपालको तर्क छ। ‘यसको वर्ग अडान स्पष्ट छैन। दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गइरहेको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन’, प्रतिवेदनमा उल्लेख छ।
माओवादी केन्द्र ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भएको अध्यक्ष नेपालको ठहर छ। ‘यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्ता स्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ’, नेपालको ठहर छ।
राष्ट्रिय स्वन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी भएको प्रतिवेदनमा उल्लेख छ। संविधानवादको कुरा गरे पनि यो पार्टीको गणतन्त्र र संघीयताप्रतिको दृष्टिकोण स्पष्ट नभएको उल्लेख छ।
राप्रपा सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी भएको उल्लेख गरिएको छ। ‘यो पार्टी समाजमा अवशेषको रुपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो’, प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।