काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई सभापति चयन गरेको उक्त पार्टी सदस्य तथा सांसद ब्रिन्दा कठायतले जानकारी दिइन्।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको निचोडसहित शुक्रबार सर्वोच्च अदालतले उनलाई नागरिकता मुद्दामा दोषी ठहर्याएको थियो। लामिछानेले आइतबार मात्रै नागरिकता पुनःप्राप्ति गरेका छन्।
लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकमा उनलाई सुरुमा केन्द्रीय समिति सदस्य चयन गरेको थियो। त्यसपछि सभापति चयन गरेको हो।
शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति चयन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।