काठमाडौं– निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका हुन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमार्फत् नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहरिएका लामिछाने नागरिकता पुनः प्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए।
सर्वोच्च अदालतले गत शुक्रबार नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको ठहर्याएपछि लामिछानेको सांसद पद खारेज भएको थियो। अदालतको फैसलापछि उनले गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट राजीनामा दिएका थिए।
उनले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको सर्वोच्चले ठहर गरेको थियो।
सर्वोच्च अदालतको आदेश बमोजिम आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।