आफूलाई खोज्ने क्रममा
आफैंलाई भोग्ने चाहमा
आफैंबाट टाढा
यो कुन अन्धकारमा आइपुगें म ?
छन त रातभरि बल्ने बत्तीहरू छन् यहाँ
तर दिनको उज्यालोमै हराउँछ बाटो
भासिँदैभासिँदै धर्ती
धर्तीभित्र च्यापिएको पाउँछु आफूलाई
हरेक पाइलामा झस्किन्छु
हरेक आवाजले चिमोट्छ
कोही बलिष्ठ पाखुराले फोक्सो अठ्याउँछ
मभित्र छ कोही दोस्रो मान्छे
जो बडो क्रूरताका साथ हत्या गर्न चाहन्छ
लखेटिरहन्छ मलाई
छाम्छु अनुभूत गर्न
खोज्छु भेट्दिन आफूलाई
भिडभाड, ठेलमठेल, उकुसमुकुस
मान्छेको भिडमा भेटिन्न मान्छे
न हृदय बहकाउने गीत
न मन बहलाउन संगीत
न कसैको पर्खाइ
न कतै पुग्ने चाहना
न प्रेम कसैसित
भाग्दैभाग्दै आफैंसित
यो कहाँ आइपुगें म?
र यहीं किन भेट भयो तिमीसँग?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।