काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको मुख्य अभिनय रहेको फिल्म ‘हेरा फेरी’को तेस्रो सिरिज निर्माणको कुरा लामो समयदेखि चर्चामा छ।
अक्षय कुमार पनि फिल्म ‘हेरा फेरी ३’बाट बाहिरिएदेखि नै चर्चामा छन्।
यसैबीच, फिल्मसँग सम्बन्धित एउटा खबर सतहमा आएको छ। रिपोर्टअनुसार निर्माता फिरोज नाडियाडवालाले वरुण धवनलाई यो फिल्म अफर गरेका थिए। तर उनले फिल्ममा काम गर्न अस्वीकार गरेको बताइएको छ।
वरुणले अक्षय कुमारलाई धेरै सम्मान गर्ने र उनीसँगको सम्बन्ध बिगार्न नचाहेको भन्दै फिल्म अस्वीकार गरेका थिए। आनन्द पण्डित र फिरोज नाडियाडवालाले अक्षय बिना ‘हेराफेरी ३’ बनाउने निर्णय गरेका छन्।
अक्षय कुमारले ‘हेराफेरी ३’मा ९० करोड मागेका थिए। निर्माता त्यति तिर्न तयार थिएनन्। एक कार्यक्रममा उनले ‘हेराफेरी ३’बाट पटकथा मन नपरेको कारण बाहिरिएको बताए। निर्माताले अक्षय बिना फिल्म बनाउने निर्णय गरेका थिए।
हालै निर्देशक अनीस बज्मीले पनि ‘हेराफेरा ३’ छाडेको खबर थियो। सञ्चारमाध्यममा चलिरहेको खबरका अनुसार अनीसले फिरोज नाडियाडवालासँगको केही पुरानो लेनदेन भएकाले यो फिल्मबाट अलग भएका हुन्।
उनले २०१५ मा आएको फिल्म ‘वेलकम ब्याक’को बक्यौता अहिलेसम्म नपाएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।