काठमाडौं– ‘ग्यारेन्टी गर्छु ३१ वर्षमा हुन नसकेका काम म ५ वर्षमा गर्छु’, सुनसरी– ३ मा एमालेबाट उम्मेदवारी दर्ता गराएपछि भगवती चौधरीले सञ्चारकर्मीसमक्ष प्रतिक्रिया दिएकी थिइन्। उनको प्रतिक्रिया आफ्नै प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारप्रति लक्षित थियो, जो २०४८ सालदेखि लगातार ६ पटक सुनसरीबाट निर्वाचित भइरहेका थिए। र, स्वयम् गच्छदारसँग तेस्रो प्रतिस्पर्धामा थिइन् उनै चौधरी।
मंगलबार सार्वजनिक मतपरिणामअनुसार चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी छन्।
यो निर्वाचनमा गच्छदारले सातौं पटक प्रतिस्पर्धा गरेका थिए। २०४८ पछिका सबै निर्वाचनबाट संसदीय राजनीतिका खेलाडी बनेका गच्छदार भ्रष्टाचार काण्डमा नमुछिनुअघि सत्ता राजनीतिमा छाएका नेता थिए। गच्छदार दर्जन पटकभन्दा बढी मन्त्री बनेका थिए। तर करिब ३ दशकभन्दा बढी सत्ता र संसदीय राजनीतिको वरिपरि रहेका गच्छदारलाई चौधरीले ‘ब्रेक’ लगाइदिएकी छन्।
कुनै बेला पार्टी राजनीतिमा पनि पकड भएका गच्छदारलाई चौधरीले यो निर्वाचनमा करिब ६ हजार मतान्तरले पराजित गरेकी छन्। चौधरीले ३९ हजार २९७ मत ल्याउँदा गच्छदारले ३३ हजार ८६३ मतमात्र प्राप्त गरे।
यद्यपि, गच्छदारको चरम राजनीतिक क्षयीकरण भइरहेको बेला चौधरीले थप एक झड्का दिलाएकी छिन्। त्यसो त गच्छदार शक्तिमा हुँदा अघिल्ला निर्वाचनमा चरम शक्ति दुरुपयोग गरेर जित निकाल्ने आरोप लाग्ने गरको थियो।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन्। चौधरीले २०७० को निर्वाचनको तुलनामा मतान्तर घटाएकी चौधरीले उक्त निर्वाचनमा ३२१ को मात्र मतान्तर रहेको थियो। उक्त निर्वाचनको मतगणनाको क्रममा विभिन्न ‘बखेडा’ झिकेर गच्छदारले उक्त कार्यलाई नै प्रभावित पारेको आरोप लाग्ने गर्छ।
१३ पटक मन्त्री बनेका गच्छदार आफू मन्त्री बन्दा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समयदेखि फरारहुँदै आएका उनी पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए।
अदालतमा मुद्दा परेसँगै पदबाट मुक्त भएका गच्छदार पार्टीको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भए। त्यसयता सार्वजिनक मञ्चबाट ओझेल परेका उनलाई त्यसको प्रत्यक्ष प्रभाव यो निर्वाचनमा सहजै परेको देखियो। चौधरीसँग पराजय ब्यहोरेसँगै गच्छदार तत्कालका लागि राजनीतिका सबै संयन्त्रबाट विमुख देखिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।