काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २०७४ सालमा आइपुग्दा लोपोन्मुख पार्टी बन्ने अवस्थामा थियो। टुटफुटबाट चोइटिएर स-सानो बन्दै गएको पार्टीले समानुपातिकमा ‘थ्रेसहोल्ड’समेत कटाउन सकेन। प्रत्यक्षतर्फ राजेन्द्र लिङ्देनले जितेर बिउ जोगाए।
झापा- ३ बाट कृष्ण सिटौलालाई पराजित गरेर २०७४ मा प्रतिनिधि सभामा राप्रपाको प्रतिनिधित्व गर्ने एक ममात्र सांसद थिए उनी। तर यसपल्ट उनीसँग कम्तीमा पाँचजना प्रतिनिधि सभामा हुने निश्चित भइसकेको छ भने एकजना झिनो मतले अग्रता लिइरहेका छन्। समानुपतिक समेत गर्दा १० जना भन्दा बढीको संख्या रहने देखिन्छ।
अघिल्लो निर्वाचनमा स्वतन्त्रका रुपमा संसद्मा रहेका लिङ्देनले यसपल्ट सहकर्मीको संख्या मात्रै बढाउन सफल भएनन्, पार्टीलाई राष्ट्रिय दलको मान्यता दिन समेत सफल हुने बाटोमा छन्। राजनीतिका ‘खेलाडी’ मानिएका कमल थापालाई पार्टी अध्यक्षमा हराएका लिङ्देनले उनलाई प्रतिनिधि सभामा समेत रोकेका छन्।
एमालेको सूर्य चिह्नमा लडेका थापालाई लिङ्देन नेतृत्वको राप्रपाका दीपक सिंहले तेस्रो नम्बरमा धकेलिदिए।
समानुपातिकको प्रारम्भिक गणना हेर्दा पाँचौं दलका रुपमा राप्रपा संसद्मा रहने निश्चित भइसकेको छ। ५० लाख हाराहारी समानुपातिक मत गणना हुँदा समेत राप्रपाले २ लाख ६२ हजार ९२४ भोट ल्याएर लगभग थ्रेसहोल्ड कटाएको छ।
झापा ३ मा सत्ता गठबन्धनका उम्मेदवार कृष्ण सिटौलालाई हराएर लिङ्देन विजयी भए। लिङ्देन ३ हजार २७६ मतान्तरसहित सिटौलालाई हराउन सफल भए।
यसैगरी जुम्लामा ज्ञानेन्द्र शाही, बाँके- २ मा धवल समशेर राणाले फराकिलो मतान्तरसहित जिते। मकवानपुर- १ दिपक सिंहले कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाविरुद्ध सनसनीपूर्ण जित निकाले।
नवलपरासी पश्चिममा ध्रुवबहादुर प्रधानले अनपेक्षित जित निकालेका छन्। २०५६ देखि लगातार चुनाव लड्दै आएका उनी यसपल्ट नेपाली कांग्रेसका प्रभावशाली नेता देवेन्द्रराज कँडेललाई हराएर प्रतिनिधि सभामा पुगे।
दुई स्थानमा अग्रता
राप्रापले यसपल्ट अन्य दलका ‘हेविवेट’ नेताहरुविरुद्ध जित निकालेर ‘सरप्राइज’ दिइरहेको छ। त्यो क्रम रुपन्देही- ३ मा जारी छ। रुपन्देही- ३ गृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण २६ हजार ५६५ मतसहित पछि परेका छन्। राप्रपाका नेता दीपक बोहरा २७ हजार १४२ मत सहित अघि लागेका छन्।
यसैगरी चितवन–३ मा दुईटा गठबन्धनलाई राप्रपाका विक्रम पाण्डेले ठूलो अन्तरले पछि पारेका छन्। पाण्डे २६ हजार २८१ मतसहित अघि छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी डा भोजराज अधिकारी १८ हजार १०५ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।