काठमाडौं– आसन्न मंसिर ४ को निर्वाचन बहिस्कार गरेका नेक्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरूले अरुलाई लक्षित गर्दै बनाउँदै गरेको बम उनीहरूमाथि नै विस्फोट भएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा श्रीकला मल्लको घरमा डेरा लिएर बसेका विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरूले बम बनाउँदै गर्दा विस्फोट भएको थियो। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
उनीहरूको डेरामा खानतलासी गर्दा एउटा प्रेसर कुकर बम फेला परेको छ। फेला परेको बमलाई डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ। तीन जना कार्यकर्ता भने भाग्न सफल भएको प्रहरीले जनाएको छ।
बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफैँले बनाउँदै गरेको कुकर बम बिस्फोट हुदा विप्लबका दुई कार्यकर्ता घाइते भएको र दुवै जनाको भेरी अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
बम बिस्फोटबाट घाइते भएका विप्लबका कार्यकर्तालाई स्थानीय युवाहरूले उपचारका लागि भेरी अस्पतालमा पुराएका थिए। घाइते हुनेमा धर्म बडुवाल र डिल्ली डिसी (क्षेत्री) छन्।
उनीहरूको डेराबाट प्रहरीले अर्को बम पनि फेला पारेपछि त्यसलाई निष्क्रिय र्ने कार्य भइरहेको छ। उनीहरूले नेपालगञ्ज क्षेत्रमा आतंक फैलाउनका लागि बम निर्माण गरिरहेको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने तीन जना फरार भएका छन्। फरारहरूको प्रहरीले खोजी थालेको छ। अन्य स्थानमा पनि यस्तै घटना हुनसक्ने भन्दै उच्च सर्तकता अपनाएर खोजी थालेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।