म,
फगत एक झोले।
झोलाको उपनिवेशमा,
विषालु अमृत बेच्ने,
मृत झोले।
म झोला भित्र
मार्क्स बोक्दिनँ,
बाकुनिन बोक्दिनँ,
एङ्गेल्स बोक्दिनँ,
बोक्दिनँ बिपी अनि मदनहरु।
बोकी हिँड्छु त केबल,
अपरिचित अनि आयातित
सडेको लास,
लासको दुर्गन्धित सुवास
अनि खडा गर्छु सुवासको
अर्को एक उपनिवेश।
जहाँ अटाइनेछ
विद्यार्थी,
कर्मचारी,
पत्रकार,
कलाकार,
शिक्षक,
डाक्टर,
इन्जिनियर,
आदि हरू,
इत्यादी हरू।
अनि संहार गरिनेछन्
रङ्गहीन,
विद्यार्थी,
कर्मचारी,
पत्रकार,
कलाकार,
शिक्षक,
डाक्टर,
इन्जिनियर,
आदि हरू,
इत्यादी हरू।
कहिले घामको खोजीमा,
कहिले छहारीको खोजीमा,
बाँझो खेतको गह्राहरूमा,
मन्दिर मस्जिद गिर्जाघरहरूमा,
चुहिने झोला बोकी
भरिन्छ कि भन्ने स्वैरकल्पनामा
झोलेहरुको उपनिवेशमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।