काठमाडौं– डा मिता सिंहद्वारा अंग्रेजी भाषामा लिखित ’द स्ट्रगल अफ गणेशमान सिंह’ को नेपाली अनुवाद ’गणेशमान सिंहको सङ्घर्ष’ सार्वजनिक भएको छ। बिहीबार सिंहको १०८ औं जन्मजयन्तीका अवसरमा पुस्तक सार्वजनिक भएको हो।
परराष्ट्रविद् डा जयराज आचार्य, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र समाजसेवी तथा लेखक दुर्गा घिमिरेले एक समारोहबीच पुस्तक सार्वजनिक गरेका हुन्।
छोरीले लेखेको पुस्तकका कारण पुस्तकले गम्भीर तर मार्मिक पाटो उजागर गरेको बताउँदै घिमिरेले लोकतन्त्रका लागि योगदान दिएका नेताहरूका बारेमा युवापुस्तालाई जानकारी दिन पुस्तक पाठ्यक्रममा समावेश गरिनुपर्ने बताइन्।
त्यस्तै, पराराष्ट्रविद् श्रेष्ठले पुस्तकले गणेशमान सिंहको सजिव चित्रण गरेको उल्लेख गर्दै पुस्तकमा प्रयोग भएका तस्बिरले पुस्तकलाई अर्कै उचाइमा पु¥याएको बताए। पुस्तकले गिरिजाप्रसाद कोइरालाको नीतिको आलोचना गरे पनि लेखकले कोइरालासँगको सन्दर्भ नछुटाई तटस्थ भएर लेखेको पनि उनले बताए।
अर्का वक्ता डा जयराज आचार्यले छोरीले लेखेको पुस्तक भए पनि लेखक वष्तुनिष्ठ भएको टिप्पणी गरे। उनले भने, ’सायद मिता सिंह मेडिकल डाक्टर भएकाले होला। उहाँले भावनाभन्दा पनि भएका घटनालाई निस्पक्ष भावले हेरेर लेख्नुभएको छ।’
पुस्तक कात्तिक २४ गतेबाटै बजारमा उपलब्ध भएको छ। पुस्तकलाई लेखक आन्विका गिरीले नेपालीमा अनुवाद गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।