काठमाडौं– भारत समूह २ को विजेता बनेको छ। अष्ट्रलियामा जारी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको सुपर १२ को अन्तिम खेलमा जिम्बावेलाई ७१ रनको विशाल अन्तरले हराउँदै भारत समूह विजेता बनेको हो। यो समूहबाट पाकिस्तान उपविजेता बनेको छ।
भारतले दिएको १८६ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७.२ ओभरमा सबै विकेट गुमाएर ११५ रनमात्रै बनाउन सक्यो।
जिम्बावेका रायन ब्रुलले २२ बलमा ३५ रन, सिकन्दर राज्जाले २४ बलमा ३४ रन जोड्नबाहेक अरु खेलाडीले सम्झनालायक रन जोड्न सकेनन्।
भारतका लागि रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद शामी र हार्दिक पाण्ड्याले समान २ विकेट लिए। यस्तै, भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले समान १ विकेट चट्काए।
यसअघि, टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो।
भारतका लागि सूर्यकुमार यादवले २५ बलमा अर्धशतकीय पारी खेल्दै ६१ रन बनाए। त्यस्तै केएल राहुलले पनि अर्धशतकीय पारी खेलेका थिए। उनले ३५ बलमा ५१ रन जोडे। त्यस्तै, विराट कोहोलीले २५ बलमा २६ रन बनाएका थिए।
जिम्बावेका सिन विलियम्सले २ विकेट लिएका थिए।
समूह २ मा ८ अंक बनाएको भारत समूह विजेता बन्दा ६ अंक बटुलेको पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा अन्य ४ टोली भने सुपर १२ बाटै बाहिरिएका छन्।
जसमा ५ अंक जोडेको दक्षिण अफ्रिका, समान ४ अंक जोडेका नदरल्याण्ड्स र बंगलादेश तथा ३ अंक जोडेको जिम्बावे छन्।
समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन्।
सेमिफाइनलका खेलहरू बुधबारबाट सुरु हुनेछ। बुधबार न्युजिल्याण् र पाकिस्तानबीच खेल हुनेछ। यस्तै, बिहीबार भारत र इंग्ल्याण्ड आमनेसामने हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।