काठमाडौं– बंगलादेशलाई हराउँदै पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ।
आइतबार एडिलेटमा भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम ४ को स्थान सुरक्षित गरेको हो।
बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानको जितमा मोहमद रिजवानले ३२, मोहमद हरिसले ३१, कप्तान बाबर आजमले २५ तथा शान मासुदले २४ रन बनाए।
बंगलादेशका कप्तान शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १/१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन जोडेको थियो।
बंगलादेशका लागि नजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले भने आफिफ होसेनले अविजित २४ रन बनाए।
यस्तै, सौम्य सरकारले २० तथा लिटोन दासले १० रन जोडे।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए। यसैगरी, शादब खानले २ तथा हरिस राफ र इल्फिकर अहमदले १–१ विकेट लिए।
यस जितसँगै सुपर १२ को समूह २ बाट रहेको पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरेको छ। पहिलो खेल भारतसँग र दोस्रो खेल जिम्बावेसँग पराजित भएको पाकिस्तान अन्तिम ३ खेल जित्दै नाटकीय रुपमा सेमिफाइनलमा पुगेको हो।
किनकि, अधिकांश क्रिकेटका विज्ञले जिम्बावेजस्तो तुलनात्मक कमजोर टोलीसँग पनि हारेको पाकिस्तान समूह चरणबाटै बाहिरिने अनुमान गरेका थिए। तर, पाकिस्तानले दक्षिण अफ्रिकाजस्तो बलियो टोलीलाई पाखा लगाउँदै अन्तिम ४ मा स्थान बनाएको छ।
पाकिस्तानले ५ खेलमा ६ अंक जोडेको छ। यो समाचार तयार पार्दासम्म पाकिस्तान समूहको शीर्ष स्थानमा छ। अहिले भारत र जिम्बावेको खेल भइरहेको छ। यो खेल जितेमा यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको भारत समूह विजेता बन्नेछ।
पराजित बंगलादेश भने ४ अंक जोडेर बाहिरिएको छ। यसै समूहबाट दक्षिण अफ्रिका, नेदरल्याण्डस् र जिम्बावे पनि बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।