काठमाडौं– नेकपा एकीकृत समाजवादीले भारतसँग गरिएको सन् १९५० को सन्धि लगायत सबै असमान सन्धिहरुको पुनारावलोकन गर्ने घोषणा गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी घोषणापत्रमा एकीकृत समाजवादीले १९५० लगायतका असमान सन्धि–सम्झौता पुनरावलोकन गर्ने घोषणा गरेको हो।
‘भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गर्न पहल गरिने छ। सीमा समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिने छ,’ एकीकृत समाजवादीले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
यस्तै, राष्ट्रिय हित, स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्र राष्ट्रहरूसँग पञ्चशील र असंलग्नताका सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्र अनुरूप सुमधुर सम्बन्ध कायम गरिने र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गरिने एकीकृत समाजवादीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।