काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले आज (सोमबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। महासचिव बेदुराम भुसालका अनुसार सोमबार दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागिएको हो।
नेकपा एमालेबाट अलग भएर निर्माण भएको पार्टी पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन लागेको हो। एकीकृत समाजवादी वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि दोस्रो पटक आफ्ना उम्मेदवार लिएर निर्वाचनको मैदानमा जाँदै छ।
नेपाली कांग्रेससहितको सत्ता गठबन्धनभित्र रहेको समाजवादीले उपमहासचिवहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो। उनीहरुले पार्टीको आगामी नीति र भविष्य तथा आफ्नो पार्टीको सरकार निर्माण भएमा गर्ने कार्यहरु घोषणापत्रमा समावेश गरेका छन्।
समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ। यही नाराभित्र रहेर घोषणापत्र आउने भुसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।