काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आयोजक अष्ट्रेलिया र इंग्ल्याण्डले अंक बाँडेपछि यसको फाइदा भने शीर्ष स्थानको न्युजिल्याण्डलाई भएको छ।
सुपर १२ अन्तर्गत अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल शुक्रबार रद्ध भएपछि उनीहरूलाई १–१ अंक दिइएको थियो।
मेलबर्न क्रिकेट मैदानमा तय खेल वर्षाका कारण टससमेत नभइ रद्द भएको हो।
यदि, शुक्रबारको खेलको नतिजा आएको भए समूह १ मा अष्ट्रलिया र इंग्ल्याण्डमध्ये एउटा टोली शीर्ष स्थानमा उक्लिने थिए। तर, उनीहरूले अंक बाँडेपछि न्युजिल्याण्ड फेरि शीर्ष स्थानमा रहन सफल भएको छ। अंक बाँडेपछि इंल्याण्डले दोस्रो र अष्ट्रेलियाले चौथो स्थानमा चित्त बुझाएका छन्।
यस नतिजाले समूह १ मा रहेका ६ मध्ये ४ टोलीको समान ३–३ अंक छ। तर, नेट रनरेटका आधारमा न्युजिल्याण्ड पहिलो, इंग्ल्याण्ड दोस्रो, आयरल्याण्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छन्।
त्यसपछि श्रीलंका र अफगानिस्तान समान २ अंकसकित पाँचौ र अन्तिम स्थानमा छन्। नेट रनरेटका आधारमा श्रीलंका १ स्थान अघि छ।
सुपर १२ का २ समूहमा ६–६ टोली छन्। तीमध्ये समान २ टोली सेमिफाइनलमा जानेछन्।
यसअघि यसै समूहमा रहेका आयरल्याण्ड र अफगानिस्तानबीचको खेल पनि पानी परेका कारण रद्द भएको थियो।
अहिले शीर्ष स्थानको न्युजिल्याण्ड र पाँचौ स्थानमा रहेको श्रीलंकाबीच खेल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।