काठमाडौं– टी–२० विश्वकप क्रिकेटमा मंगलबार आयोजक अष्ट्रेलियाले महत्वपूर्ण खेल खेल्दैछ। सुपर १२ को आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैगर्दा साविक विजेता अष्ट्रेलिया दबाबमा हुनेछ।
किनकि, प्रतियोगिताको प्रमुख दाबेदार मानिएको अष्ट्रेलिया पहिलो खेलमा कट्टर प्रतिद्धन्द्धी न्युजिल्याण्डसँग ८९ रनको भारी अन्तरले हारेको थियो। यस नतिजाले समूह १ मा रहेका ६ टोलीमध्ये अष्ट्रेलियालाई पुछारमा धकेलेको छ।
यो समूहमा न्युजिल्याण्ड, श्रीलंका र इंग्ल्याण्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। समान दुई अंक हुनका बाबजुद उनीहरू नेट रनरेटका आधारमा तल–माथि छन्।
यस्तै, अफगानिस्तान र आयरल्याण्ड क्रमशः चौथो र पाचौँ स्थानमा छन्। दुवै अंकविहीन हुनका बाबजुद अफगानिस्तान नेट रनरेटले अगाडि छ।
यता, आयोजक अष्ट्रेलिया भने उस्तै अंकविहीन रहेर नेट रनरेटका आधारमा पछि पर्दै अंक तालिकाको पुछारमा छन्।
समूहमा रहेका ६ टोलीमध्ये दुईले मात्र सेमिफाइनलमा स्थान बनाउनेछन्। यसर्थ, सेमिफाइनल सम्भावना राख्ने हो भने मंगलबार पौने ५ बजे हुने श्रीलंकाविरुद्धको खेल अष्ट्रेलियाले जित्नैपर्ने हुन्छ।
यो खेल पनि हारेमा अष्ट्रेलियालाई झनै दबाब हुनेछ ।
दुई टोलीबीच भएका पछिल्ला पाँच टी–२० खेलमा अष्ट्रेलिया तीन खेलमा विजयी बनेको छ भने दुई खेलमा श्रीलंकाले जित हात पारेको छ। यसरी हेर्दा थोरै अष्ट्रेलियाको पल्ला भारी देखिन्छ, तर, बढी दबाबमा खेल्ने हुनाले अष्ट्रेलियाले स्वाभाविक खेल खेल्न नसक्ने सम्भावना पनि उत्तिकै छ।
अर्कोतिर, श्रीलंका पनि यो खेल जितेर सेमिफाइनलमा पुग्ने सम्भावना मजबुत बनाउन चाहन्छ।
यस विश्वकपमा १६ राष्ट्रबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा चार टोली बाहिरिएका थिए। सेमिफाइनल प्रवेशका लागि १२ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।