काठमाडौं– चालु आर्थिक वर्षको तीन महिनामा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले १८ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
२६ वटा बैंकको नाफा गत आव वर्षको यसै अवधिको भन्दा ८.९२ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। गत आवको पहिलो त्रैमासमा (तीन महिनामा) २६ वाणिज्य बैंकले १७ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएका थिए।
चालु आवको पहिलो त्रैमासमा १५ वटा वाणिज्य बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा बढेको छ भने ११ वटा बैंकको घटेको छ। यस अवधिमा १५ बैंकको खुद नाफा ६.९५ प्रतिशतदेखि ८५.०७ प्रतिशतसम्म वृद्धि हुँदा ११ बैंकको ०.२४ प्रतिशतदेखि ६१.५० प्रतिशतसम्मले घटेको हो।
खुद नाफाको वृद्धिदरलाई प्रतिशतका आधारमा हेर्दा सो अवधिमा कुमारी बैंकले छलाङ मारेको छ। गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा बैंकले ८५.०७ प्रतिशतले वृद्धि गरेको छ। गत आवको पहिलो त्रैमासमा कुमारीले ५४ करोड रुपैयाँ खुद नाफा कमाएको चालु आवको सोही अवधिमा १ अर्ब रुपैयाँ खुद नाफा कटाएको हो।
नाफामा उच्च वृद्धि गर्ने सूचीको दोस्रो नम्बरमा स्टयाण्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा ६८.३९ प्रतिशतले वृद्धि गरी ८१ करोड १३ लाख रुपैयाँ पुर्याएको हो।
यस्तै, खुद नाफाको परिमाणका आधारमा भने चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले कमाएको छ। सो अवधिमा बैंकले ४८.७९ प्रतिशतले खुद नाफामा वृद्धि गरी १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको हो।
नाफाको परिमाणमा दोस्रो नम्बरमा नबिल बैंक रहेको छ। बैंकले गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा ४१.३० प्रतिशतले वृद्धि गरी १ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ।
बैंकको नाफा तथ्यांकमा :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।