काठमाडौं - आइतबार टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को खेलमा कट्टर प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिडे। हारउन्मुख भारतले अन्ततः सो खेल ४ विकेटले जित्यो।
हारिसकेको खेल जिताएपछि भारतीय ब्याटर विराट कोहलीको यतिबेला चर्चा भइरहेको छ। १० रन बनाएको अवस्थामै भारतले २ विकेट गुमाएको थियो। तेस्रो क्रममा आएका पूर्वकप्तानसमेत रहेका कोहलीले उत्कृष्ट प्रदर्शन गरेपछि हारउन्मुख रहेको खेल पनि भारतले जितेको हो।
यस क्रममा कोहलीले मात्र ५३ बलमा ८२ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे। अन्तिमतिर उनले हानेका २ छक्काले भारतको जितको आधार तय गरेको हो।
यसरी भारतलाई अप्रत्यासित जित दिलाएपछि कोहलीको चर्चा आफ्नो देशका खेलाडीले त गर्ने नै भए। भारतका कप्तान रोहित शर्माले कोहलीले हालसम्मकै उत्कृष्ट प्रदर्शन गरेको बताए।
रमाइलो कुरा त यो छ, उनको प्रशंसा पराजित टोलीका कप्तान बाबर आजमले समेत गरेका छन्।
खेल सकिएपछि प्रतिक्रिया दिँदै उनले कोहलीकै उत्कृष्ट प्रदर्शनका कारण आफ्नो टोली हारेको बताएका छन्।
यता, नेपालका पूर्वकप्तान पारस खड्काले समेत कोहलीको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत कोहलीलाई आफ्नो पुस्ता र धेरै पुस्ताको उत्कृष्ट खेलाडीको संज्ञा दिएका छन्।
कोहली र खड्का एकै पुस्ताका खेलाडी र कप्तान हुन्। यी दुईले यू २० विश्वकपमा एकअर्काविरुद्ध खेलेका थिए। उमेर पनि मिल्दोजुल्दो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।