काठमाडौं – अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले सुखद सुरुवात गरेको छ।
सुपर १२ अन्तर्गत शनिबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पहिलो खेलमै जित दर्ता गराएको हो।
अफगानिस्तानले दिएको ११३ रनको झिनो लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
इंग्ल्याण्डको जितका लागि लियम लिविङ्स्टोनले अविजित २९ तथा एलेक्स हेल्सले १९ रन बनाए। यस्तै, जोस बटलर र डाबिड मलानले समान १८ रनको योगदान दिए।
अफगानिस्तानका लागि फैजल फारुकी, रशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र फरिद अहमदले समान १ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो।
अफगानिस्तानका लागि इब्राहिम जाड्रानले ३२ रन तथा उस्मान घानीले ३० रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य स्कोर जोड्न सकेनन्।
इंग्ल्याण्डका लागि साम करनले ५ विकेट लिए। उनले ३.४ ओभरमा १० रनमात्र खर्चिएर ५ विकेट लिएका हुन्।कीर्तिमानी प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याचसमेत घोषित भए।
यस जितसँगै इंग्ल्याण्डले समूह १ मा २ अंक जोडेको। समान अंक भए पनि नेट रनरेटका आधारमा इंग्ल्याण्ड न्युजिल्याण्डपछि रहेको छ।
पराजय भोगेका घरेलु टोली अष्ट्रेलिया र अफगानिस्तान अंकविहीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।