काठमाडौं – टी–२० विश्वकप क्रिकेटमा घरेलु टोली अष्ट्रेलिया पहिलो खेलमै कट्टर प्रतिद्वन्द्वी न्यजिल्याण्डसँग पराजित भएको छ।
आयोजक तथा साविक विजेता शनिबार आफ्नो पहिलो खेलमै कट्टर प्रतिद्वन्द्वी न्युजिल्याण्डसँग ८९ रनले फराकिलो अन्तरले पराजित भएको हो।
सिड्नी क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो।
ग्लेन म्याक्सवेलले २८, प्याट कमिन्सले २१ रन, मिचेल मार्शले १६, कप्तान आरोन फिन्चले १३ तथा टिम डेबिडले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो रनको स्कोरसमेत नबनाउँदा घरेलु टोली अष्ट्रेलिया पराजित हुन बाध्य भयो।
अष्ट्रेलियालाई कम रनमा रोक्न न्युजिल्याण्डका मिचेल स्यान्टेनर र टिम साउथीले समान ३ विकेट लिए।
यस्तै, ट्रेन्ट बोल्डले २, लक्की फगुर्सन र इस सोधीले समान १ विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारत २० ओभरमा मात्र ३ विकेट गुमाएर २०० रन बनाएको थियो।
न्युजिल्याण्डका लागि ओपनर डेबिड कन्वेले अविजित रहँदै ९२ रनको अर्धशतकिय इनिङ खेले। शतक बनाउनबाट ८ रनले चुकेका उनी प्लेयर अफ दि म्याच घोषित भए।
यस्तै, जेम्स निसमले अविजित २६, कप्तान केन विलियम्सनले २३, ग्लेन फिलिप्सले १२ रनको योगदान दिएका थिए।
अष्ट्रेलियाका लागि जोस हेजलउडले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन।
यो महत्वपूर्ण जितसँगै न्युजिल्याण्ड समूह एकको शीर्ष स्थानमा रहन सफल भएको छ।
अष्ट्रेलिया र न्युजिल्याण्ड अन्तर्राष्ट्रिय क्रिकेटका कट्टर प्रतिस्पर्धी हुन्। यसर्थ, तुलनात्मक केही कमजोर मानिएको न्युजिल्याण्डले घरेलु मैदानमै अष्ट्रेलियालाई हराउनुलाई उसको उपलब्धि ममानिएको छ।
समूह एकको दोस्रो खेलमा शनिबार नै इंग्ल्यान्ड र अफगानिस्तान खेल्दैछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।