काठमाडौं – स्कटल्याण्डलाई हराउँदै जिम्बावे अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ मा पुगेको छ। भर्खरै सम्पन्न पहिलो चरणको समूह बीअन्तर्गतको निर्णायक खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराउँदै जिम्बावे सुपर १२ मा पुगेको हो।
स्कटल्याण्डले दिएको १३३ रनको सामान्य लक्ष्य जिम्बावेले ९ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्यो।
यसअघि, टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो।
समूह बीमा केहीबेरअघि भएको खेलमा वेस्ट इण्डिजलाई हराउँदै आयरल्याण्ड सुपर १२ मा पुगिसकेको छ। दुई पटकको विजेता वेस्ट इण्डिज भने पहिलो चरणबाटै बाहिरिएको छ।
यस खेलअघि, स्कटल्याण्ड र जिम्बावेबीच समान २ अंक थियो । यो खेल जितेपछि जिम्बावेको ४ अंक भएको छ ।
यससँगै, पहिलो चरणबाट सुपर १२ मा जाने सबै टोलीको छिनोफानो भएको छ ।
समूह एबाट श्रीलंका र नेदरल्याण्ड्स सुपर १२ मा पुगिसकेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।