काठमाडौं– तल वा माथि जताबाट चक्कु चलाए पनि घाइते त आखिरमा खर्बुजा नै हुन्छ। आज हाम्रो न्यायपालिका खर्बुजामा रुपान्तर भएको छ।
नेपालको राजनीतिक प्रणाली र संस्कार प्रतिकूल संसदीय सुनवाइको प्रावधान राखिँदा के–के न पाइयो भनेर रमाउने मनुवाहरु आज संसदीय सुनवाइको कामबाट लोकतन्त्र, शक्ति पृथकीकरण तथा न्यायपालिका मास्ने काम हुँदैछ भनेर कोलाहाल मच्चाउँदै छन्। उनीहरुलाई केही प्रश्न सोध्न चाहन्छुः
१) संविधानमा संसदीय सुनवाइको प्रावधान राख्दा कछुवाले जसरी टाउको लुकाएर बस्नेहरुको दिमागमा आज एक्कासी कसरी घैँटामा घाम लागेको हो?
२) बौद्धिक हैसियत र विषयगत ज्ञान नभएका राजनीतिक दलधारी व्यक्तिहरु मात्र सुनवाइमा सदस्य राखिँदा यी मनुवाहरुको किन चेत खुलेन?
३) एकै दिनमा ७ जनाको सुनवाइ गर्ने नौटङ्की र बिरालो बाध्ँने प्रवृत्तिलाई पक्षपोषण गर्ने खालको काम देखिँदा मनुवाहरु कहाँ थिए?
४) सुनवाइमा तथानाम गालीगलौजमा उत्रेर जवाफ दिँदा पनि न्यायाधीश हुन योग्य भनेर सिफारिस हुँदा के उनीहरु निदाइरहेका थिए?
५) सुनवाइमा नेताले जस्तै भाषण छाँटेर सुनवाइ पद्धतिकै जात्रा गर्दा यी मुनवाहरु कता थिए?
६) सुनवाइमा औंला ठड्याउँदै गलत नाम उच्चारण गर्दा क्षमासमेत नमाग्ने दम्भी व्यक्ति सिफारिश हुँदा यी मनुवाहरुलाई किन आश्चर्य लागेन?
७) न्याय तथा कानूनका विषयभन्दा नितान्त वैयक्तिक प्रश्नहरु सोधेर मानमर्दन गरिँदा यी मनुवाहरुको ध्यान कता थियो?
८) संसदीय सुनवाइको व्यवस्थाको सट्टा न्याय तथा कानूनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्वतन्त्र तथा प्रवुद्ध व्यक्तिहरु सम्मिलित उच्च स्तरीय समितिबाट न्यायाधीश सिफारिश गरिने व्यवस्था हुनुपर्छ भनिँदा यी मनुवाहरु किन मौन बसेका हुन्?
९) यति अशोभनीय घटनाक्रम घटिसकेर पनि न्याय परिषद् र संसदीय सुनवाइको व्यवस्था अन्त्य नगरेसम्म स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्नु निरर्थक हुन्छ भन्न यी मनुवाहरु किन तयार छैनन्?
यी प्रश्नहरु उब्जिँदै गर्दा मुलभूत रुपमा यसको सार तत्त्व व्यक्तिभन्दा पहिला पद्धति वा प्रणाली सम्बन्धमा गम्भीर र संवेदनशील हुनु जरुरी देखिन्छ।
तसर्थ, आफ्ना वा पराइ व्यक्तिको कुरा उठेपछि कोलाहल मच्चाउनुभन्दा स्वतन्त्र न्यायपालिका मास्ने यी धमिराहरु समाप्त पार्न यी मनुवाहरुमा हार्दिक अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।