काठमाडौं- ‘यदि अमेरिकी पक्षले ‘क्रस–स्ट्रेट’(चीन–ताइवानको सिमा क्षेत्र) को अवस्थालाई गलत अनुमान वा गलत व्यवहार गर्छ भने यसले ताइवान क्षेत्र र विश्वकै सुरक्षा, समृद्धि र व्यवस्थाको लागि विनाशकारी परिणामहरू ल्याउनेछ,’ चीनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले मंगलबारको नियमित पत्रकार सम्मेलनमा व्यक्त यो आक्रोशपूर्ण अभिव्यक्ति चीन–अमेरिका बीच तनावको उच्चतम प्रतिक्रिया हो भनेर बुझे हुन्छ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताईवान भ्रमणको पूर्वसन्ध्यामा चीन निकै आक्रामक देखिएको थियो। चीनको चर्को विरोधका वाबजुद मंगलबारसाँझ उच्च सुरक्षाका बीच पेलोसी ताइवानको राजधानी ताइपेइमा उत्रेकी छन्।
ताइपेइ विमानस्थल बाहिर हजारौं ताइवानी पेलोसीको स्वागतमा पुगेका थिए। ताइवानका विदेश मन्त्री पनि सभामुख पेलोसीको स्वागतमा विमानस्थल पुगेका थिए।
हिन्द–प्रशान्त क्षेत्रको भ्रमणमा निस्केकी सभामुख पेलोसी सिङ्गापुर र मलेसियाको भ्रमण पछि ताइवानको राजधानी ताइपेइ आइपुगेकी हुन्। उनी दक्षिण कोरिया र जापान जाने कार्यतालिका पनि रहेको छ।
ताइपेइ उत्रेपछि पेलोसीले आफू भ्रमण टोलीको नेतृत्व गरेर किन ताइवान आएँ भन्ने ‘वासिङटन पोस्ट’ मा छापिएको एउटा लेख सेयर गरेकी छन्।
उनले प्रजातान्त्रिक ताइवानसँग प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रता र मानव मर्यादामा साझा चासो रहेको उल्लेख गरेकी छन्। यस्तै पेलोसीले प्रशान्त क्षेत्रको पश्चिमा क्षेत्रमा रहेको ताइवानको सुरक्षा र शान्ति का विषयमा अमेरिकाको चासो रहेको पनि बताएकी छन्।
ताइवानमा संसद्को भ्रमण गर्दै पेलोसी। तस्बिर: रोयटर्स
पेलोसीले आफ्नो भ्रमण 'एक चीन नीति' को विरुद्ध नरहेको पनि उक्त लेखमा स्पष्ट पारेकी छन्। उक्त लेखमा पेलोसीले चीनले हङकङको राजनीतिक स्वतन्त्रतालाई अवरोध गरेको, त्यस्तै चीन भित्रकै मानव अधिकार र त्यहाँका अल्पसंख्यक माथि गरेको ज्यादतीका विरुद्ध रहेको स्पष्ट पारेकी छन्।
पेलोसीले ताइवानको भ्रमणले लोकतन्त्रप्रतिको आफूहरूको प्रतिबद्धता पुनः प्रस्ट पारेको र ताइवानको स्वतन्त्रता र लोकतन्त्रको सबैले सम्मान गरिनुपर्नेमा जोड दिँदै आफ्नो लेखको अन्त्य गरेकी छन्।
यता चीनले भने पेलोसीको भ्रमणको विरोध गर्दै चीन–ताइवान क्षेत्रमा मंगलबार दिउँसोबाटै सुरक्षा तथा सैन्य गतिविधि बढाएको छ। यसले अन्तरराष्ट्रिय क्षेत्रमा चिन्ता बढाएको छ।
त्यस अघि चीनले पेलोसीको भ्रमणलाई लिएर अमेरिकालाई रोक्न बारम्बार सचेत गराई रहेको थियो। चीनले जुलाई १९, जुलाई २१, जुलाई २५ र जुलाई २७ मा पत्रकार सम्मलेन मार्फत यो भ्रमणको विरोध जनाएको थियो। अघिल्लो हप्तामात्र अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिङ फीङ बीचको फोन संवादमा राष्ट्रपति सी ले पेलोसीको भ्रमणको विषयलाई लिएर विरोध जनाएका थिए।
भारतस्थित एनडिटिभीले अमेरिकी राष्ट्रपति कार्यलयले पेलोसीलाई भ्रमण रोक्न आग्रह गरेको तर पेलोसीले अस्विकार गरेको बताएको छ। यसले, करिब २५ बर्ष पछि अमेरिकाको उच्च कार्यदलको नेतृत्व गरेर पेलोसी ताइवान आउन आतुर रहेको देखाउँछ।
झन्डै २५ बर्ष पहिले सन् १९९७ मा तत्कालीन सभामुख न्यूट जिनग्रिचले ताइवानको भ्रमण गरेका थिए। पेलोसीको भ्रमण २५ बर्ष पछिको वरिष्ठ अमेरिकी अधिकारीको पहिलो ताइवान भ्रमण भएको छ। पेलोसी बेइजिङको लामो समयदेखि आलोचक रहेकी छन्।
चीनले आफ्नो भनेर दाबी गरेको ताइवान एक स्वशासित टापु हो। चीनले यसलाई 'एउटा भगोड़ा प्रान्त' को रूपमा हेर्ने गरेको बीबीसीले बताएको छ।
चीनको कडा विरोधका बीच यो भ्रमण तय भएपछि यसले आफू गम्भिर भएको र यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले वहन गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएकी छन्। मंगलबारको पत्रकार भेटघाटमा प्रवक्ताले चीनको सार्वभौम सुरक्षा हितलाई कमजोर पार्न अमेरिका उद्यत रहेको भन्दै यसको मूल्य अमेरिकाले तिर्नु पर्ने बताइन्।
यस्तै, मंगलबार नै चीनले ताइवानको सिमा क्षेत्रमा युद्धक विमानहरू पठाएर सैन्य प्रतिक्रिया दिइसकेको छ। यसका साथै सेनाहरूले प्रत्यक्ष फायर ड्रिलहरू पनि गरिरहेको बीबीसीले बताएको छ। बीबीसी भन्छ,‘चिनियाँ सेनाको पूर्वी कमाण्डले कुनै पनि परिस्थितिको लागि पूर्ण रूपमा तयार रहेको भनी एक भिडियो अनलाइन पोस्ट गरिसकेको छ।’
उता ताइवानको रक्षा मन्त्रालयले भने आफ्नो टापु नजिकैको चिनियाँ सैन्य गतिविधिको पूर्ण जानकारी रहेको र कुनै पनि चिनियाँ धम्कीबाट आफूहरूलाई बचाउन कटिबद्ध रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकी अधिकारीहरुले चीनले सैन्य उक्साहटका साथ प्रतिक्रिया दिन सक्ने अनुमान गरेका थिए। तर ती अधिकारीले चीनियाँ पक्षले प्रचार गरे जस्तो अन्य गतिविधि भने गलत ठहरीने बताएका छन्। अमेरिकी अधिकारीको दाबी र चीनियाँ पक्षको आक्रोश कस्तो रुपमा प्रकट हुने हो त्यसका लागि पर्खनु पर्ने छ। तर बुधबार सभामुख पेलोसी ताइवानका राष्ट्रपतिलाई भेटेर दक्षिण कोरिया उडिसकेकी हुनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।