फाइल तस्बिर
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण देखिएका बिरामीका लागि देशभरका १७ अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोरोना संक्रमितको उपचारवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरिएको छ।
६ वटा प्रदेशका २/२ वटा र बागमती प्रदेशका ५ वटा गरी १७ वटा अस्पतालमा नि:शुल्क उपचारका व्यवस्था गरिएको अधिकारीले जानकारी दिए।
प्रदेश १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा नि:शुल्क उपचारको व्यवस्था गरिएको छ।
बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु (काठमाडौं), भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा नि:शुल्क उपचारको व्यवस्था गरिएको छ। गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङमा नि:शुल्क उपचारको व्यवस्था गरिएको छ।
यस्तै, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगरमा नि:शुल्क उपचारको व्यवस्था गरिएको छ। सुदूरपश्चिम अस्पतालमा डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीमा नि:शुल्क उपचारको व्यवस्था गरिएको अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।