काठमाडौं– पछिल्लो केही सातायता नेपालमा कोरोनाको संक्रमणदर बढ्दै गएको छ। असार २० गते एक प्रतिशतमा रहेको कोरोनाको संक्रमणदर हाल बढेर १२.१८ प्रतिशतमा पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४३५ जनामा कोरोना पुष्टि भएको छ। तीन हजार ५६९ जनाको परीक्षण हुँदा ४३५ जनामा कोरोना पुष्टि भएको हो।
यसअघि बुधबार कोरोना संक्रमणदर ९. ८२, मंगलबार १० .६३, सोमबार ९.८२, आइतबार ४ . ४३ र शनिबार ६ .६३ प्रतिशत रहेको थियो।
गत माघ ८ गते नेपालमा कोरोना संक्रमणदर ५० प्रतिशतम्म पुगेको थियो। जुन ओमिक्रोन भेटिएयताकै सबैभन्दा उच्च थियो। फागुन महिनाबाट विस्तारै घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ। तर, असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगेको देखिन्छ।
संक्रमितको संख्यासँगै दैनिक रुपमा सक्रिय संक्रमितको संख्या पनि उत्तिकै बढ्दो क्रममा छ। असार २९ गतेबाट सक्रिय संक्रमितको संख्या एक हजारमाथि पुगेको थियो। मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।