दाङ– दाङको राजपुर गाउँपालिकाको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि वडाबासीलाई ग्यास चुलो वितरण गरेको छ।
बिहीबार राजपुर गाउँपालिका–५ ले ५ सय घरमा ग्यास सिलिन्डर र चुलो वितरण गरेको हो। वडा कार्यालयले २६ लाख ३२ हजार ८४ रुपैयाँको लागतमा ५ सय घरमा ग्यास सिलिन्डरसहित चुलो वितरण गरेको हो।
चंगुवा, नयाँ बस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोलका बासिन्दाले ग्यास चुलो पाएका हुन्। धुवाँमुक्त समाज बनाउने उद्देश्यले ग्यास सिलिन्डरसहित चुलो वितरण गरिएको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले जानकारी दिए।
वडावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए। दाउराबाट निस्केको धुवाँले मानव स्वास्थ्यमा असर गर्ने तथा श्वासप्रश्वास, दम र क्षयरोग लगायतका दिर्घ रोगसमेत लाग्ने गर्छ। भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको वडा कार्यालयले जनाएको छ।
राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले गृहिणीको स्वास्थ्य राम्रो बनाउन यो कार्यक्रमले सघाउने भन्दै कार्यक्रमलाई निरन्तरता दिने बताए।
भारतसँग सीमा जोडिएको यो गाउँपालिका मानव सूचकांकमा समेत कमजोर छ। यहाँ स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको अवस्था पनि कमजोर छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।