काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत डा गोविन्द केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौं ल्याउने क्रममा प्रहरीले गरेको बल प्रयोगको निन्दा गरेको छ।
अस्पताल भवनभित्रै प्रहरी प्रवेश गरी कुटपिट गर्नु र झडप भई अस्पताल भवन लगायत स्वास्थ्य उपकरणहरुमा क्षति पुग्नु निन्दनीय कार्य भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
आयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारीले अस्पतालमा प्रवेश नपाउँदा प्रहरीले लाठी चार्ज गरेको उल्लेख छ। अश्रुग्यास प्रहार भएकोबारे भने आयोग मौन रहेको छ।
घटनाको आयोगले अनुगमन गर्दै यस्तो कार्य तत्काल रोक्न गृह मन्त्रालयलाई मौखिक जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।
झडपका क्रममा घाइते भएका चिकित्सक, विद्यार्थी एवं प्रहरीलाई नि:शुल्क र प्रभावकारी उपचार व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै आयोगले हिंसा र बल प्रयोगबाट मानव अधिकारको संरक्षण नहुने स्मरण गराएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।