चितवन- भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि तीन पांग्रे (अटो र ई–रिक्सा) लाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित भएका छन्।
महानगरको सो निर्णयविरुद्ध अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघ, नेपाल अटो रिक्सा श्रमिक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अटो ई–रिक्सा युनियनले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका हुन्।
उनीहरुले आज पत्रकार सम्मेलन गरी तीनबुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्। तीनपांग्रे सवारी साधनको जिल्लाभरिको नयाँ आउने बाटो इजाजतपत्र (रुट परमिट) बन्द गर्नुपर्ने, मुख्य राजमार्गको किनाराको एक लेन तीनपांग्रे सवारीसाधन सञ्चालनमा ल्याउने वातावरण मिलाइनुपर्ने र बजारको विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका र विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने, शुक्रबार विरोधस्वरुप तीनपांग्रे सवारीको र्यािली निकालिने र सोही दिन केन्द्रीय बस टर्मिनलमा कोणसभा गरिने अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष सुमन भुजेलले बताए।
यस्तै, शनिबार महानगरले तीनपांग्रे सवारीसाधन रोक लगाउने निर्णयको अवज्ञा गर्ने कार्यक्रम छ। मजदुरको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ र ट्रेड युनियन महासंघ (जिफन्ट)ले ऐक्यबद्धता जनाएका छन्।
भरतपुर महानगरले भने साउन ५ गतेबाट पूर्व–पश्चिम लोकमार्ग, बाइपास सडक र नारायणगढ–मुग्लिन सडकखण्डमा बाटो काट्नबाहेक तीनपांग्रे सञ्चालनमा पूर्णरुपमा रोक लगाइने जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।