भैरहवा– चिकित्सा क्षेत्रको सुधारको माग गर्दै जुम्लामा अनसनरत डा गोविन्द केसीको समर्थनमा भैरहवामा ‘डा गोविन्द केसी बचाऔं अभियान’ सुरु गरिएको छ।
डा केसीका जायज माग पुरा गर्न तथा उनको प्राण रक्षा गर्न दबाव दिनका लागि भैरहवामा क्रियाशिल विभिन्न राजनीतिक दल, समाजसेवी तथा सामाजिक अभियान्ताहरुले अभियान सुरु गरेका हुन्।
उनीहरुले आज बिहान भैरहवामा पत्रकार सम्मेलनकोे आयोजना गर्दै ‘डा केसी बचाऔं अभियान’ सुरु गरेका हुन्।
डा केसीले उठाएका माग जायज भएको भन्दै उनका माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाव दिनका लागि अभियान सुरु गरिएको अभियन्ता सञ्जय सिंह केसीले बताए। उनले चिकित्सा क्षेत्रको सुधारको लागि अनसन बसेका डा केसीको मागप्रति सरकार गम्भीर नभएकोले आफूहरुले अभियान चलाउनु परेको बताए।
अभियान अन्तर्गत बिहीबार(आज) अपरान्ह ५ बजे भैरहवाको विद्रोही चोकमा भेला भएर र्याली निकाली मिलनचोक पुगेर कोणसभामा परिणत हुने नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीका इञ्जार्ज देवेन्द्र पाण्डेले बताए। कोणसभाको समापनपश्चात् अन्य कार्यक्रमहरु तय गर्ने उनले जानकारी दिए।
राप्रपा(प्रजातान्त्रिक) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले माथेमा आयोगको प्रतिवेदन पूर्ण रुपमा कार्यान्ययन हुनुपर्ने बताए।
समाजसेवी मिलन बस्नेतले ‘डा केसी बचाऔं अभियान’ अन्तर्गत आयोजना हुने कार्यक्रममा सम्पूर्ण नागरिकलाई सहभागी हुन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।