खोटाङ- जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पहिचानको लागि पोसाक र प्रतीक चिह्न (लोगो) लागू गरिएको छ।
पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झन्डा रहेको लोगो लागू गरिएको हो।
सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोसाकमा एकरुपता र लोगो कायम गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए। 'पोसाकमा एकरुपता नहुँदा धेरै समस्या हुने गरेको पाइएकाले झट्ट हेर्दा नै चिन्न सजिलो होस् भनेर कार्यालय समय र औपचारिक कार्यक्रममा पोसाक र लोगो लगाउने निर्णय गरिएको उनको भनाइ छ।
आफ्नै लोगो र एउटै किसिमको पोसाक प्रयोगमा ल्याउने खोटाङ पहिलो जिल्ला भएको जनप्रतिनिधिले दाबी गरेका छन्।
आगामी दिनमा जिल्लामा हुने हरेक कार्यक्रम तथा कार्यालय समयमा जनप्रतिनिधिले अनिवार्य रुपमा तोकिएको पोसाक र लोगो लगाउनुपर्नेछ। २०७४ असोज २ गते बसेको जिल्ला समन्वय समितिको बैठकले जनप्रतिनिधिको छुट्टै पहिचानका लागि जिल्ला समन्वय समिति, २ नगरपालिका र ८ गाउँपालिकाका वडा सदस्यदेखि गाउँ/नगर प्रमुखको लोगोसहितको पोसाक निर्धारण गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।