रत्ननगर, चितवन- चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले चेकजाँच गर्दा मंगलबार उनीहरु सालकसहित पक्राउ परेका हुन्।
पैदल हिडिँरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो। गोरखाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडौँतर्फ लैजान लागेका बेला सालकसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।